नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस् : सांसद खतिवडा

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकका शून्य समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनमाथि आशंका भइरहेकाले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानबिन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

त्यसैगरी, सांसद खतिवडाले कतिपय भूकम्पपीडितहरुले अझै पनि अनुदानबापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले बाँकी रहेका भूकम्पपीडितलाई अनुदान दिने काममा ढिलाइ नगर्न आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

उनले भने–‘वर्षातको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ । घर निर्माण भइसके तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिएको छैन । त्यो यथाशीघ्र यहि महिना अथवा यही आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी भूकम्प पीडितहरुलाई उपलब्ध गराओस् भनेर अनुरोध गर्न चाहन्छु ।’