तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो ।
नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउने काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताए ।
“कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भने । मन्दिरको पुनःसंरचना गरेपछि थप आकर्षण देखिने उनको दाबी छ ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँशीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँसहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङबाट भक्तजन आउने गरेका छन् ।
दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीवाराही मन्दिर पुग्नका लागि कालोपत्र सडकको व्यवस्था छ । गत वर्षमात्रै सडक कालोपत्र भएको थियो । मन्दिरमा शनिबार र बिदाको दिन भक्तजनको अत्याधिक भीड हुने स्थानीय हिमबहादुर रानाभाटले जानकारी दिए ।
मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीका बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रुपमा रहेका छन् ।
मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।
मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछालगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्नेलगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।
गुरुयोजनामा छाब्दीवाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको जनाइएको छ । मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्गमा ढुङ्गा बिछ्याउने, वराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।
प्रतिक्रिया