सिद्धिचरण नगरपालिकालाई समृद्ध बनाउन लागिपरेका छौं : नगर प्रमुख खनाल

सिद्धिचरण नगरपालिकालाई समृद्ध बनाउन लागिपरेका छौं : नगर प्रमुख खनाल



जनताको नजिकको सरकार भनेर स्थानीय सरकारलाई चिनिए पनि धेरै पालिकाहरुले जनताको माग सम्बोधन गर्न सकेका छैनन् । आन्तरीक विवाद, बजेटको अभाव, संघ र प्रदेशको उपेक्षा जस्ता समस्यामा स्थानीय सरकार रुमलिएको देखिएको छ । यस्ता समस्याहरुको बाबजुद पनि केहि पालिकाहरुले राम्रा काम गरेका छन् । संघियता पछिको दोस्रो कार्यकालको लागि स्थानीय सरकार निर्वाचित भएको एक वर्ष पुरा भएको छ । यसै सन्दर्भमा ग्लोब नेपाल डटकमले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजेन्द्र) सँग कुराकानी गरेको छ । प्रस्तुत छ, नगर प्रमुख खनालसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईँले सिद्धिचरण नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष भयो । यो अवधिमा के-कस्ता कामहरु गर्नुभयो ?

हाम्रो सिद्धिचरण नगरपालिका विकासमा अलि पछाडि छ । नगरपालिकामा हुनु पर्ने आधारभुत कुराहरु पनि यहाँ छैन । हाम्रो मुख्य उदेश्य नै सिद्धिचरण नगरपालिकालाई नगरपालिका जस्तो बनाउने हो । निर्वाचित भएर आएपछि हामीले ३ वर्ष भित्रमा यहाँको खानेपानीको समस्या समाधान गर्ने, पूर्ण बिजुलीकरण गर्ने, पालिका भित्रका सडकहरुको स्तरउन्नति गर्ने, शिक्षा क्षेत्रमा सुधार गर्ने लगायतका योजनाहरु बनाएका छौं ।

त्यसैगरी यही अवधिमा कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्ने जस्ता योजनाहरुमा केहि उपलब्धिहरु देखिएका छन् । कृषकहरुलाई परम्परागत कृषिको शैलिबाट माथि उकासेर व्यवसायिकरण गरेर आर्थिक स्तर सुधार गर्ने हाम्रो लक्ष्य अनुसार काम अगाडि बढेका छन् । नगरपालिकामा अहिले धेरै योजनाहरु सञ्चालनमै छन् । हामीले समृद्ध सिद्धिचरण बनाउनका लागि विभिन्न योजनाहरु अगाडि बढाएका छौं ।

नगरपालिकाको वडा नम्बर ६ मा बिजुली नपुगेकोले हामीले त्यसलाई महत्व दिएर काम अगाडि बढाएका छौं । खानेपानीको कुरा गर्दा धेरै वडाहरुमा एक घर एक धाराको योजना पुगिसकेको छ । केहि बाँकी ठाउँहरुमा काम निरन्तर भइरहेको छ ।

त्यसैगरी शिक्षा क्षेत्रको अनुगमनलाई बढि महत्व दिएका छौं । भौतिक संरचना निर्माणका कामहरु भइरहेका छन् । शिक्षकहरुलाई विभिन्न तालिमको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि हामी सकृय रुपमा लागि परेका छौं ।

यहाँका ग्रामिण सडकहरुलाई स्तर उन्नती गर्ने कार्य भइरहेका छन् । मैले केहि समय अगाडि मात्रै केन्द्र सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर पालिकाको वडा नम्बर ११ को मिलन चोकदेखि बेतिनीसम्मको सडक र वडा नम्बर १२ को सिमलडाँडादेखि ज्यामिरे हुँदै मोलुङ खोलासम्म जाने सडकलाई स्तर उन्नती गर्नका लागि सिफारीस गरेका छौं । त्यसैगरी समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई समयमा काम सक्न ताकेता गरिरहेका छौं ।

नगरपालिका प्रमुखको रुपमा काम गर्दा कस्ता चुनौती सामना गर्नुपर्दो रहेछ ?

स्थानीय सरकार भनेको जनताको नजिकको सरकार हो । सिंहदरबार गाउँमा आयो, अब सबै यहाँबाट नै हुन्छ भन्ने जनताले ठानेका छन् । तर स्थानीय तहलाई अहिले पनि मुख्य समस्या साधन स्रोतको नै छ । जनताको माग धेरै छन्, अपेक्षा धेरै छन् । आन्तरीक स्रोत धेरै नभएकोले संघ र प्रदेश सरकारको भर पर्नु पर्छ । त्यसो हुनाले सबै भन्दा ठुलो समस्या बजेट अभाव हो । दरबन्दी अनुसारको कर्मचारी छैनन् । कर्मचारीको अभावमा काम गर्नु परेको छ । तर पनि हामी नगरपालिकालाई सम्पन्न बनाउन दिनरात लागिपरेका छौं ।

नगरपालिकाले भौतिक विकासमा मात्रै ध्यान दियो, सामाजिक विकासलाई उपेक्षा गर्यो भन्ने नगरवासीको गुनासो छ नि ?

सिद्धिचरण नगरपालिकाले भौतिक विकास र समाजिक विकासलाई एकैसाथ अगाडि बढाएको छ । पहिले बैंकबाट दिइने सामाजिक सुरक्षा भत्ता अहिले हामीले वडामै लगेर वितरण गर्ने गरेका छौं । सदरमुकामबाट टाढा रहेका वडाहरु १, २, ७, ९, १० मा बैंकसँग समन्वय गरेर यो काम गरेका छौं । अपाड्डहरुलाई पनि विषेश प्रथामिकता दिएका छौं । त्यसैगरी हामीले बृद्ध र महिलाहरुका लागि स्वास्थ्य शिविरहरु गरिरहेका छौं । यसरी शिक्षा, स्वास्थ्यका कामहरु सामाजिक विकाससँग जोडिएका हुन्छन् । नगरको आर्थिक, भौतिक, सामाजिक सबै पक्षको विकास सँगसँगै हुनुपर्छ भन्नेमा हामी सचेत छौं ।

अब नयाँ आर्थिक वर्ष सुरु हुँदैछ । कस्ता योजनालाई प्राथमिकता दिनुहुन्छ ?

हामीले निर्वाचनका बेला धेरै कुराहरुलाई घोषणा पत्रमा उल्लेख गरेका थियौं । त्यो मध्ये केहि कुराहरु यो एक वर्षमा पुरा भएका छन् । हामीले अझै धेरै काम गर्न बाँकी छ । जनतासँग गरेका प्रतिवद्धताहरु अधुरै छन् । आउँदो आर्थिक वर्षमा पनि हामी कृषि, पर्यटन, सडक, शिक्षा र स्वास्थ्यलाई नै प्रथामिकतामा राखेर बजेट बनाउने छौं । पर्यटन क्षेत्रको पुर्वाधाहरु निर्माणका लागि संघीय सरकारसँग कुरा गरिरहेका छौं । संघ र प्रदेशले हाम्रो मागहरु सम्बोधन गरेमा हामीले जनतासँग गरेको प्रतिवद्धता बाँकी रहेको ४ वर्षमा सहजै पुरा गर्नेछौं ।

यो एक वर्षमा केन्द्र र प्रदेशसँगको सहकार्य कस्तो रह्यो ?

हामीले केन्द्र र प्रदेशसँग निरन्तर समन्वय गरिरहेकै छौं । हाम्रा माग र समस्याहरु राखिरहेकै छौं । तर, यो वर्ष भने हाम्रोमा कुनै पनि योजनाहरु परेन । आगामी वर्षमा बजेट पार्नका लागि हामीले केन्द्र र प्रदेशका मन्त्री, सांसदहरुसँग आग्रह गरेका छौं । देशको अर्थतन्त्र अत्यन्तै नाजुक छ, सबै योजनाहरु समेट्न सकिँदैन भन्ने कुरा आएको छ । तर पनि हामी हाम्रो माग केन्द्र र प्रदेशले सम्बोधन गर्छ भन्नेमा विश्वस्त छौं । अब बजेटले कति समेट्छ, हामी प्रतिक्षामा छौं ।

योजना छनोट गर्दा जनतासँग छलफल हुन्छ ?

हामीले बजेट अगाडि हरेक टोलबाट जनतासँग छलफल गरेर आवश्यकताको सूचि तयार गरेका छौं । सबै माग सम्बोधन गर्ने स्रोत साधन हामीसँग नहुने भएकोले मुख्य मागहरुको पहिचान गरेर सबैलाई महसुस हुनेगरी समान ढंगले बजेट बनाउँछौं । योजनामा काम भइरहँदा पनि जनताले नै अनुगमन गर्ने हो । त्यसो हुनाले हामीले गरिरहेको विकासमा जनसहभागिता छ । जनतासँग गरेको बाचालाई पुरा गर्नु नै हाम्रो उदेश्य हो । नगरपालिकालाई समृद्ध बनाउन हामीले इमान्दारितापुर्वक प्रयास गरिरहेका छौं । त्यसमा नगरवासिले हामीलाई साथ दिएका छन् ।

स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्षको व्यवस्था हुँदैन । तर पनि कतिपय पालिकामा विवादले कामकारवाही ठप्प छ । यो एक वर्षमा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग काम गर्दा कस्तो अनुभव गर्नुभयो ?

हाम्रो नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीगत स्वार्थलाई भुलेर काम गर्नुभएको छ । हामी सबैलाई जनताले काम गर्नका लागि जिताएका हुन्, इमानदारिताका साथ काम गर्न पर्छ भन्ने भावना सबैमा भएको मैले महसुस गरेको छु । नगरको कुनै पनि निर्णय हामी सबैको सल्लाह, सुझाव र सहमतिमा पारित गर्छौं । सबैसँगको सहकार्य, सहमतिमा नै नगरलाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता हो । यहि आधारमा हामी सबै जनप्रतिनिधि खटिरहेका छौं ।

अन्त्यमा, नगरवासीलाई केहि भन्नुछ ?

यो सञ्चार माध्यम मार्फत् म सबैलाई सिद्धिचरण नगरपालिकालाई उन्नत नगरपालिका बनाउनका लागि आ-आफ्नो स्थानबाट भुमिका खेल्न आग्रह गर्छु । नगरले गर्न सक्ने जति गर्नमा हामी कुनै कसर बाँकी राख्दैनौं । स्वच्छ, सफा र हराभरा नगरपालिका बनाउन प्रत्येक नगरवासीको साथ चाहिन्छ । जथाभावि फोहोर फाल्ने, विकासमा अवरोध गर्ने, नगरले व्यवस्थापन गर्न खोज्दा नसुनिदिने जस्ता समस्याहरु हामी सबै मिलेर समाधान गरौं र एउटा सुन्दर र नमूना नगरको निर्माण गरौं भन्न चाहन्छु । सबै काम नगरपालिकाले नै गर्छ भन्ने धारणा नराख्न पनि म सबैसँग आग्रह गर्दछु ।