सरकारलाई पूर्णता दिन मधेस प्रदेशमा गठबन्धनको बैठक बस्दै

सरकारलाई पूर्णता दिन मधेस प्रदेशमा गठबन्धनको बैठक बस्दै



जनकपुरधाम । मधेस प्रदेश सरकारको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर आएका छन् ।

जसपा नेतृत्वमा रहेको मधेस सरकारमा कांग्रेस, लोसपा, नेकपा (एकीकृत समाजवादी) लाई सहभागी गराउने विषयमा छलफल हुने भएकाे छ । शुक्रवार बसेको गठबन्धनको बैठकले मधेस प्रदेशको सरकार आलोपालो सञ्चालन गर्ने र पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएसँगै त्यसलाई विस्तार गर्ने भएको छ ।

आज जनकपुरमा बस्ने गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड लगायतको विषयमा छलफल हुने बताइएको छ । मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । यसअघि एमालेले चार वटा मन्त्रालय सम्हालेको थियो । एमाले सरकार छाडेर निस्किसकेको छ ।

जसपाले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय सम्हाल्दै आएका छन् भने जनमत पार्टीले दुई, माओवादीले एउटा मन्त्रालय सम्हाल्दै आएको छ ।

एमालेले छाडेर गएको चार वटै मन्त्रालय काँग्रेसले माग गरेको छ भने लोसपा र नेकपा (एस) ले दुई–दुई वटा मन्त्रालय माग गरेका छन् । यसरी माग गरिएको आधारमा मन्त्रालय माग गरे भने पाँच वटै दललाई मन्त्रालय नपुग्ने अवस्था रहेको छ । मुख्यमन्त्री सहित जसपाले दुई, काँग्रेसले तीन, जनमतले दुई, नेकपा (एस), माओवादी र लोसपाले एक–एक वटा मन्त्रालय बाँडफाँड गर्दा मिल्ने बताइएकाे छ ।

मधेस प्रदेशको सत्ता गठबन्धनमा सबभन्दा ठुलो दल कांग्रेसले चार वटा मन्त्रालयको अडान लिरहेकाे छ ।

कांग्रेसको संसद् सङ्ख्या २२ रहेका छन् । त्यसपछि दोस्रोमा जसपा रहेको छ । उसको संसद् सङ्ख्या १९, जनमत पार्टीको १३, लोसपा र माओवादी ९–९ र नेकपा (एस) को सात सांसद रहेका छन् ।