अहोरात्र उपन्यासमार्फत गीता उपदेश सिकाउँदै खेमनाथ

अहोरात्र उपन्यासमार्फत गीता उपदेश सिकाउँदै खेमनाथ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अमेरिकामा काम गरिरहेको एक जना मुस्लिमले जब आफ्नो साथीबाट हिन्दुधर्म दर्शन (गीता भगवत)का विभिन्न कथाहरु सुन्छ । त्यसपछि उनलाई हिन्दुधर्म मनपर्न थाल्छ । साथीसँग निरन्तर हिन्दु धर्मदर्शनका कुरा सुन्न त्यो मुस्लिम साथीलाई लत लाग्छ ।

अमेरिकामा बस्दै आएका साहित्यकार खेमनाथ दाहालले यस्तै रोचक कथा समेटेर नयाँ उपन्यास ‘अहोरात्र’ तयार पारेका छन् । यही उपन्यासको शनिबार काठमाडौंमा एक समारोहबीच लोकार्पण गरियो ।

वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, अग्रज साहित्यकारहरु प्रा.डा. खेम कोइराला बन्धु राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, लेखककी पत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, पत्रकार कृष्ण भुसाल लगायतले कृतिलाई सार्वजनिक गरे ।

भगवत गीतका दर्जनौ श्लोक र कथाहरुलाई व्याख्यात्मक रुपमा समेटिएको यो उपन्यासले पाठकलाई गीताका उपदेश र ज्ञान सिकाउने विश्वास बक्ताहरुले सो कार्यक्रममा व्यक्त गरे ।

पूर्वराजदूत निरन्जनमानसिंह बस्न्यातले यस कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गरेको बताए।

सांस्कृतिक अतिक्रमणलाई रोक्न आफ्नै धर्म संस्कृतिमा अरुलाई आकर्षित गर्नु पर्छ भन्ने उदेश्यले अमेरिका बसेर पनि आफुले यो उपन्यास तयार गरेको आख्यानकार दाहालले कार्यक्रममा प्रष्ट्याए । यस अघि सातवटा काव्यकृति ल्याएका दाहालले यो आफ्नो पहिलो औपन्यासिक कृति भएको पनि कार्यक्रममा जनाए ।

सो कृतिका सम्पादक रमेश दाहालले अरुको धर्मसंस्कृतिलाई अतिक्रमण नगरी आफ्नो धर्म संस्कृतिको सकरात्मक कुराबाट अरुलाई प्रभावित पार्न सक्नु हिन्दु धर्मको विशेषता भएको कुरा यो उपन्यासले प्रस्ट्याएको बताए ।

कार्यक्रममा बोल्दै साहित्यक पत्रकार संघका अध्यक्ष लेकालीले दाहालको कृतिको चर्चा गर्दै उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेज भएको टिप्पणी गर्नुभयो । उहाँले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत दाहालले उजागर गरेको भनाइ राख्नुभयो ।

साहित्यकार डा. शान्तिमाया गिरीले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई यो उपन्यासमा ससक्त रुपमा प्रस्तुत गरिएको छ भनिन् ।

यस्तै, अग्रज पत्रकार पुरुषोत्तम दाहालले अमेरिकी दिनचर्यामा पनि आफ्नो धर्म संस्कृतिलाई मनन गरेर अहोरात्र उपन्यास तयार गरी धर्मसंस्कृतिको संरक्षणमा उपन्यासकार दाहालले योगदान पु-याएको बताए । यो कृति एउटा राम्रो बौद्धिक खुराक रहेको उनको कथन थियो ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले काव्यकारका रुपमा चिनिएका खेमराज दाहालले यो उपन्यासमार्फत आख्यानमा पनि दाह्रो उपस्थिति जनाएको बताए ।

मिलाप पब्लिकेशनको आयोजना गरेको सो कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसालले साहित्यकार खेमनाथ दाहालबारे कार्यक्रममा प्रकाश पारे । साहित्यकार डा. रामप्रसाद दाहालले यो उपन्यास कल्पना भन्दा पनि यथार्थपरक भएको बताए । कलाकार लय संग्रौलाले दाहालको उपन्यास पढेपछि आफुले अमेरिकी समाजबारे धेरैकुरा बुझ्ने अबसर पाएको छु भने ।

यसैगरी प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, साहित्यकार तथा चिकित्सक प्राडा अर्जुनदेव भट्टले यो कृतिले पूर्विय दर्शनको महत्व अझ बढाउने विश्वस व्यक्त गरे ।

समालोचक प्रमोद प्रधानले दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’ जस्तै यो उपन्यास पनि फरक र रोचक भएको बताए ।

कार्यक्रममा समालोचक डा. यज्ञश्वर निरौला, ज्ञानु अधिकारी, प्राडा शैलेन्द्रु प्रकाश नेपाल, प्रा. डा. खेम दाहाल, प्राडा खेम कोइराला बन्धुले कृतिको टिप्पणी गर्दै उपन्यासलाई केही कथानक बनाउन सुझाब दिए ।