सप्तरीमा घाँटी काटेर युवकको हत्या

सप्तरीमा घाँटी काटेर युवकको हत्या



राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४, मधवापुरमा एक युवकको घाँटी काटेर हत्या भएको छ । मधवापुरस्थित धान खेतमा करिब २० वर्षीय युवकको धारिलो हतियारले घाँटी छिनाएको अवस्थामा सोमबार शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

हत्या भएका युवकको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

भारदह बजारदेखि पाँच सय मिटर पश्चिम रहेको चन्द्र नहरभन्दा तीन सय मिटरको दूरीमा शव फेला परेको हो । घाँटी काटिएको युवकको शरीरमा चोटपटक र कोखामा समेत धारिलो हतियारले रोपिएको एक स्थानीयले बताए ।

धारिलो हतियारले घाँटी छिनाएपछि खुट्टामा डोरी बाँधी घिसारेर अर्को स्थानमा लगेको देखिन्छ ।

भित्री कट्टु मात्र लगाएको अवस्थामा फेला परेको युवकको अन्य कपडाहरू फरक स्थानमा फेला परेको छ भने खेतमा रगतका टाटाहरू देखिएको छ ।

सोमबार मधवापुरका स्थानीयवासीले शव देखपछि प्रहरीलाई सूचना दिएका थिए । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनरूपबाट डिएसपीको टोली घटनास्थल पुगेको छ ।

यसअघि वैशख ३१ गते सप्तरीको रूपनी गाउँपालिका-१ स्थित सडक किनारको खेतमा शम्भुनाथ नगरपालिका-२ खैरबोनाका लुकमानको छोरा २० वर्षीय तफेजुलको शव फेला परेको थियो । घटनास्थलबाट फाइटर र गाँजा फेला परेको थियो । 

धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थलको अनुसन्धान गरे पनि प्रहरीले घटनाबारे केही पत्ता लगाउन सकेको छैन ।