लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ



रूपन्देही । लुम्बिनी प्रदेशमा नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २(१) का भण्डारीलाल अहिरले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् ।

मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।

यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई सोमबारदेखि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन् । माओवादीले बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने निर्णय गरेर मुख्यमन्त्री चौधरी समक्ष सिफारिस गरिसकेको छ ।

यससँगै लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई मुख्यमन्त्री चौधरीले सोमबार नै मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।