राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको छ : प्रधानमन्त्री

राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नैतिक धरातलबाट सोच्दा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको दाबी गरेका हुन् । 

गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने भन्दै उनले सत्ता र प्रतिपक्षी दलबाट समर्थन पाएको सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न मौलिक विशेषता पाउने दोहोर्‍याए । 

नीति तथा कार्यान्वयन पक्षलाई जोड दिएको पनि बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट कार्यान्वयन सम्भव रहेको बताए । 

राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुद्धृढीकरण, अर्थतन्त्रको संरचना पुनसंरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएर सम्बोधन गरिएको बताए ।  

उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।