तीन महिनापछि संसदमा चन्द्र भण्डारी

तीन महिनापछि संसदमा चन्द्र भण्डारी

सरकारले दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी आज प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । सम्बोधनका लागि मर्यादापालकहरुको सहारामा रोस्टममा पुगेका भण्डारीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखे । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए ।

फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए ।

बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा पाठ्यक्रममा समावेस गर्न पर्ने उनले बताए ।

उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए । ‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो,’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो ।’

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन् । ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’

उनले आफूले उपचार गराएका बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट गरेको उल्लेख गर्दै नेपालमा पनि कमी नरहेको बताए ।

उनले भने, ‘मैले प्रधानमन्त्रीलाई अनुरोध गरे हामीले एउटा हस्पिटल बनायौं भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपालमा बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।’

उनको स्वास्थ्यमा अझै पनि सुधारोन्मुख छ । उनले स्वास्थ्य प्रतिकुलताका बीच विशेष समय माग गरेर संसदमा बोलेका हुन् ।