किसानलाई सरकारले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

किसानलाई सरकारले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई सरकारले अनुदान दिनैपर्ने बताएका छन् ।

आज बुधवार माइतीघर मण्डलामा उखु किसानले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले उखुलगायतका किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताए ।

उनले भने, ‘उखुलगायतका किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि, अर्थतन्त्र पूरै धराशायी भएको छ । लाखौँ मानिस विदेश पलायन हुन बाध्य भएका छन् । हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ ।’

अध्यक्ष भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उनकाे भनाइ छ ।