अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा

अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा



न्यूयोर्क । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतीय निर्वाचनका लागि थुप्रै अनुहार चर्चामा छन् ।

त्यसमध्येका एक हुन्, रोन डेसान्टिस । अन्ततः लामो समयदेखिको अनुमानलाई सही साबित गर्दै रोनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले स्थानीय समयअनुसार बुधबार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरको प्रत्यक्ष प्रसारणमा समस्या आएपछि उनको उम्मेदवारी दर्ता प्रक्रियामा करिब २० मिनेट विलम्ब भएको थियो ।

रोनको उम्मेदवारी घोषणाको प्रत्यक्ष प्रसारण सुन्न ५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ता व्यग्र प्रतीक्षामा थिए । त्यही समयमा ट्वीटरमा समस्या आएपछि केही समयका लागि प्रत्यक्ष प्रसारण अवरुद्ध बनेको थियो । प्राविधिक समस्या समाधान भएपछि पुनः रोनले सम्बोधन गर्दा त्यो सँख्या घटेर २ लाख ५० हजारमा झरेको थियो ।

४४ वर्षीय रोन अमेरिकी सेनाका पूर्वअधिकारी पनि हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् । निकै लामो समयदेखि उनी राष्ट्रपति पदको आगामी निर्वाचनमा उम्मेदवार बन्ने कुरा चर्चामा थियो ।

आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाटै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि उम्मेदवार बन्ने दौडमा छन् । त्यसैले पार्टीभित्र फ्लोरिडाका गभर्नर रोनका लागि ट्रम्प नै सबैभन्दा ठूलो चुनौती बन्दै आएका छन् ।

अमेरिकी राष्ट्रिय राजनीतिमा पनि रोन चिरपरिचित अनुहार हुन् । उनी सन् २०१२ मा पहिलो पटक अमेरिकी संसद्को तल्लो सदनमा निर्वाचित भएका थिए । सन् २०१८ मा सिनेटर बन्ने दौडमा असफल भएपछि उनी फ्लोरिडाको गभर्नरमा निर्वाचित भएका थिए ।