काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा.महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् ।
चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.महतले अधिकांश सार्वजनिक संस्थानहरूको उपलब्धि नदेखिएको बताउँदै त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए । चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांश प्राप्त भएको उनले बताए । समीक्षा अवधिमा २०.३ प्रतिशत सार्वजनिक संस्थानहरूको लाइब्रीटि घटेको अर्थमन्त्री डा.महतको भनाइ छ ।
सोही अवसरमा अर्थमन्त्री डा.महतले सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।
नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (भोलि) प्रस्तुत गर्ने छ ।
आर्थिक सर्वेक्षणको पूर्णपाठ :
प्रतिक्रिया