मुद्दा लेखनमा च्याटजीपीटीको प्रयोग गरेपछि…

मुद्दा लेखनमा च्याटजीपीटीको प्रयोग गरेपछि…



न्युयोर्क । अमेरिकामा वादीले एउटा मुद्दा लेखनका क्रममा एआई टुल्स च्याटजीपीटीको प्रयोग गरेको घटना सार्वजनिक भएको छ ।

रोबर्ट माटाले एभियान्का एयरलाइन्सविरुद्ध एक मुद्दा दायर गरेका थिए । सन् २०१९ मा एयरलाइन्सको लापरबाहीका कारण उडानका क्रममा उनी फलाममा ठोक्किएर घाइते भएका थिए । सोही विषयमा एयरलाइन्सबाट क्षतिपूर्ति भराउन माग गर्दै उनले मुद्दा दायर गरे ।

‘लेविडो, लेविडो र ओबरम्यान’ नामक फर्मका कानुन व्यवसायी स्टिभन ए स्वार्टजले माटाको यो मुद्दा हेरेका थिए ।

एयरलाइन्सले उक्त मुद्दा हदम्यादको कारण देखाउँदै माटाको माग खारेज गर्न माग गरेको थियो । स्वार्टजले भने करिब एक दर्जन मुद्दामा स्थापित नजिरहरू उल्लेख गर्दै आफ्नो पक्षको मुद्दा अदालतबाट हेरिनुपर्ने माग गरेका थिए । स्वार्टजले उल्लेख गरेका ती नजिरहरू न्यायाधीश र विपक्षीका कानुन व्यवसायीले फेला नपारेको बताएका थिए ।

सुनुवाइका क्रममा न्यायाधीशले उल्लिखित नजिर फेला नपारेको बताए । त्यसपछि स्वार्टजले ती नजिरहरू आफूले च्याटजीपीटीको सहयोगबाट प्राप्त गरेको बताए ।

स्वार्टजले इजलासमा न्यायाधीशसँग माफी माग्दै आफूले यसरी कानुनी लिखतमा पहिलोपटक च्याटजीपीटीको प्रयोग गरेको बताएका थिए । उक्त मुद्दाको अर्को पेसी आउँदो जुन ६ तारिखका लागि तोकिएको छ । द न्युयोर्क टाइम्सबाट ।