कांग्रेस नेत्री एवम् पूर्वराज्यमन्त्री पाण्डेको निधन

कांग्रेस नेत्री एवम् पूर्वराज्यमन्त्री पाण्डेको निधन



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवम् पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज मङ्गलवार दिउँसाे काठमाडौंकाे गौशालामा रहेकाे आफ्नै निवासमा निधन भएको छ ।

आजै दिउँसाे ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विसं २००८ मा जन्मिएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी उनी विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य भइन् भने विसं २०६४ मा संविधान सभा सदस्य भएकी थिइन् ।

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत व्यतित गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।