आठ अभियुक्तको बयान सकियो

आठ अभियुक्तको बयान सकियो



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने प्रकरणमा हालसम्म काठमाडौं जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आठ अभियुक्तको बयान सकिएको छ । मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएसँगै आठ अभियुक्तको बयान सकिएको हाे ।

यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो । त्यस्तै, गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।

अदालतका अनुसार यो हप्तामा बाँकी रहेका नौ अभियुक्तसमेतको बयान सकिनेछ । पक्राउ परेका सबैको बयान सकिएसँगै थुनछेक बहस सुरु हुने छ ।

अब पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सानु भण्डारी, पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पा, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।