कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग



बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।

प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरुले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’

‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो । नेपाली कांग्रेसले मात्र सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनः विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ । यसैगरी घाइते आन्दोलनकारीहरू तथा सुरक्षाकर्मीहरूको यथोचित उपचारमा ध्यान दिइयोस् । संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान् मन्त्र हो भन्ने पनि सम्बन्धित सबैलाई स्मरण गराउँदछौ ।’