फरार रहेका महर्जन अदालतमा हाजिर

फरार रहेका महर्जन अदालतमा हाजिर



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो ।

अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ । तीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् ।

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम जारी छ । जेठ १२ देखि प्रतिवादीहरुको बयान लिन थालिएको हो ।