प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो समिति गठन, प्रदेश संरचनालाई पूर्णता

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो समिति गठन, प्रदेश संरचनालाई पूर्णता


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको छ ।

पहिलो अधिवेशन गर्न युनियनले केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । योसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ । प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेश सहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ ।

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशनबाट उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी तर्फको उपाध्यक्षमा निरज तामाङ, महिला तर्फबाट उपाध्यक्षमा सिता न्यौपाने, महासचिवमा साईला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुंगाना र विष्णु पन्थी, कोषाध्यक्षमा शंकर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भएका छन् ।

पदाधिकारीमा निर्धारित सङ्ख्या भन्दा बढी उम्मेदवारी परेपछि सहमति गराउन युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, पत्रकार महासङ्घका पूर्व सचिव रामप्रसाद दाहाल, युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षद्वय सलोजा दाहाल र जीवन भण्डारी, महासचिव दिलिप पौडेल र कोषाध्यक्ष माधव धिताल रहेको सहमति समन्वय समिति गठन गरिएको थियो । समितिको आग्रहमा अध्यक्षमा दावी गरेका महेश गौतमले उम्मेदवारी फिर्ता लिनु भएको थियो भने अन्य उम्मेदवारहरूले दावी गरेको भन्दा फरक पदमा रहन तयार भएपछि सहमति जुटेको हो ।
समितिको सदस्यमा भने कुवेर गिरि, सिता शर्मा, संवेग बस्नेत, तुल्सीराम भण्डारी, दिपेन्द्र अधिकारी, सुन्दर पाण्डे, मुक्तिनाथ आचार्य, कुमार भण्डारी, सुशीला सिग्देल, नवराज कार्की, दीपक घिमिरे, रमा भुर्तेललाई चयन गरिएको छ । त्यसैगरी लेखा समिति संयोजकमा नारायण अधिकारी सदस्यमा लक्ष्मी गौतम र भावना हमाल निर्वाचित भएका छन् ।

उपत्यका तथा प्रतिष्ठान प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चार माध्यममा गठित प्रतिष्ठान शाखा गरी कुल १२ शाखा रहेका छन् ।
प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लाहरूमा पनि यही जेठ महिना भित्रमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष शिव लम्सालले जानकारी दिए । युनियनले यही जेठ २३ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।