नेशनल लाईफ इन्स्योरेन्सकाे ३५औं वार्षिक साधारण सभा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सकाे ३५औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३५औं वार्षिक साधारण सभा २२ जेष्ठ, २०८० मा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभामा अध्यक्ष प्रेमाले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८/०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा व्यक्त गरिन् ।

आ.व.२०७८/०७९ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई रु.१,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई रु.५,०८०.४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु.४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ.व.२०७८/०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।

कम्पनीले नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रीयामा विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्ने, कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक कार्यमा निरन्तर लगानी गर्ने जानकारी गराएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु.७३,९२,८९१/- बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

३५औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लागि अद्यावधिक चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.१,९५,३८,६६१/- नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५/- मा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- पुगेको छ र तोकिएको चुक्ता पूँजी सहज रुपमा पूरा भएको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।