गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित



पाेखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि बहुमत सांसदले समर्थन जनाएका थिए ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २१ को संसद बैठकमा नीति कार्यक्रम पेस गरेका थिए । २३ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि बिहीबार मुख्यमन्त्री पाण्डेले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो ।

गण्डकी प्रदेशसभामा अहिले सभामुखबाहेक सत्ता पक्षमा ३५ सदस्य छन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, सभामुखसहित माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १ सत्ता पक्षमा छन् । प्रतिपक्षमा एमालेका २२ र राप्रपाका २ सांसद छन् । प्रदेशका सबै सदस्यले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए ।

प्रतिपक्ष दल एमाले र राप्रपाले नीति तथा कार्यक्रममा पुरानै योजना, केन्द्रबाट साभार गरिएको र गति नलिनेजस्ता कार्यक्रम समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सत्तापक्षले भने सरकारले सबै वर्गलाई छुने नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरेका थिए ।