काठमाडौं । पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख अर्जुनजंग थापाले विकास निर्माणका बाधक स्थानीय भएको आरोप लगाएका छन् । उनले विराटनगर भन्सार विन्दुसम्म आइपुग्ने रेल्वे निर्माणको उदाहरण दिँदै यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा दिएका हुन् ।
सहसचिव थापाले नेपालमा आयोजनाहरु किन असफल हुन्छन् भन्ने दह्रो उदाहरण भन्दै फेसबुक स्टाटसमा लेख्छन– ‘भारतीय अनुदान सहयोगमा बथनाहादेखि नेपाली भन्सार बिन्दुसम्म ७.७ किमी र नेपाल भन्सारबाट १३.३ किमी टाढा रहेको कटहरियासम्म कार्गो रेलका लागि रेल्वे निर्माण गर्न निर्माणकर्ता र कन्सल्टेन्ट खटाइएको थियो । भारतीय पक्षबाट सन्तोषजनक रुपमा काम भइरहेको थियो । अहिले स्थानीय बासिन्दाबाट आएको अवरोधले हाटखोला भन्दा पूर्वको कटहरियामा निर्माण कार्य ठप्प छ ।’
माथिकाे तस्बिर बिराटनगरको हाटखोला भन्दा थोरै पूर्व रहेको कटहरियाको हो । इँटा र रेल्वेको सिलिपर चाङ लगाइएको देख्न सकिन्छ । यो खण्डमा करिब १ हजार ८ सय मिटर लम्बाईमा रेल्वे स्टेशनका लागि जग्गा अधिग्रहण गर्नुपर्ने रहेछ । रेल्वे विभागले कानूनी प्रकृया पूरा गरेर यस खण्डको करिब ८० प्रतिशत जग्गाको मुआब्जा वितरण गरेर अधिग्रहण गरिसकेको छ । मुआब्जाको मुल्यांकन चलन चल्ती भन्दा राम्रो रहेको भनेर त्यहीका जग्गा धनीहरु बताउँछन् ।
‘तर बाँकी २० प्रतिशतले मुआब्जा कम भयो भनी मुआब्जा बुझेका छैनन् । केही दलालहरुले मुआब्जा बढाइ दिने भनी यी जग्गा धनीहरुलाई उकासेका छन् । यी दलालहरुको लोभमा केही नेताहरु आइसकेका छन् भन्ने हल्ला छ । साइट नपाएर एक वर्ष अघि भारतीय ठेकेदार फर्किसकेका छन्, तिनले थुपारेका निर्माण सामाग्री चोरी हुन थालेको छ ।’
‘मुआब्जा बुझेकाहरुले तुरुन्त जग्गा अधिग्रहण सम्पन्न गरी निर्माण थालनी गर्ने दबाव दिइरहेका छन् । नत्र आन्दोलन गर्ने धम्की आइरहेको छ । प्रशासनलाई कस्को दबाव आयो कुन्नी ? मौनता छाएको छ ।’
सरकारी उच्च अधिकृतबाट यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक हुनु स्थानीयका लागि लाजमर्दो हो । नेता र कर्मचारीले भ्रष्टाचार गरे भनेर नथाक्ने जनता आफू कति जिम्मेवार छन् भन्ने यो एउटा उदाहरण हो । विकास निर्माणमा राज्यलाई सहयोग गरेर त्यसबाट लाभ लिन ढिलो गर्नु हुँदैन भन्ने चेतना आम जनतामा कहिले आउँछ ?
प्रतिक्रिया