साथीको हत्या गरी फरार अभियुक्त पक्राउ

साथीको हत्या गरी फरार अभियुक्त पक्राउ



रुपन्देही । रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।

एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो । प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।