विकास आयोजनामा एमालेले तुच्छ राजनीति गर्‍यो : सांसद रामहरि खतिवडा

विकास आयोजनामा एमालेले तुच्छ राजनीति गर्‍यो : सांसद रामहरि खतिवडा



काठमाडौं । ओखलढुंगाको पहिरे खोला पुल ठेक्का स्थगनप्रति सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । टेण्डर प्रक्रिया पूरा भएर काम सुरु हुने अवस्थामा पुगेको आयोजना एमालेले राजनीतिक प्रतिशोधका कारण स्थगित गरेको आरोप सांसद खतिवडाको छ ।

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णयबाट उक्त प्रदेशभरिका विभिन्न आयोजना तथा कार्यक्रमको श्रोत सहमति खारेज गर्ने निर्णय भएसँगै ओखलढुंगाको चर्चित पहिरे खोला पुलको समेत ठेक्का प्रकृया स्थगित भएको छ ।

पूर्वाधार विकास कार्यालय ओखलढुंगाले गत बैशाख १३ गते पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । चारवटा निर्माण व्यवसायीले बोलपत्र पेस गरेका थिए । करिब तीन करोड रुपैयाँ लागत रहेको उक्त पुलको ठेक्काको प्राविधिक प्रस्ताव खोली आर्थिक प्रस्ताव खुल्ने चरणमा पुगिसकेको थियो ।

‘मैले केन्द्रदेखि प्रदेशसम्म लबिइङ गरेर, पटक–पटक प्रदेश राजधानी विराटनगर पुगेरै रकम सुनिश्चितता गरेर आयोजना ठेक्का प्रकृयामा अगाडि बढाएको थिएँ, सांसद खतिवडाले भने, ‘अहिले राजनीतिक प्रतिशोधले जनताको प्रत्यक्ष सरोकार रहेको आयोजना नै स्थगित गरिएको छ ।’

‘पहिरे खोला पुल निर्माण आयोजनाको श्रोत सहमति किन खारेज गरेको भनेर मैले मुख्यमन्त्री हिक्मत कार्कीसँग सोध्न खोजेको थिएँ, मुख्यमन्त्री कार्कीले फोन नै उठाएनन् ।’ सांसद खतिवडाले भने, ‘नेपाली कांग्रेसले जितेको जिल्ला भनेर दुराशयपूर्ण भावना राखेको देखियो । विकासमा पछि परेको ओखलढुंगालाई सम्बृद्ध बनाउने संकल्प लिएर आएका छौँ । कहिँ कतैबाट पनि ओखलढुंगाको विकासमा अवरोध भएको हामी सहन सक्दैनौँ ।’

प्रकृया अगाडि बढिसकेको हुनाले पुल निर्माण कार्य तत्काल अगाडि बढाउन सांसद खतिवडाले प्रदेश सरकारसँग माग गरेका छन् । उनले भने, ‘एमालेका मुख्यमन्त्री कार्कीले राजनीतिक प्रतिशोध साँधेर विकास आयोजनामा तुच्छ राजनीति गरेका छन् । मुख्यमन्त्री कुनै एउटा पार्टीको मात्र हुँदैन । फरक राजनीतिक दललाई पूर्वाग्रपूर्ण नजरले हेर्न पाईदैन । म ओखलढुंगालाई अन्याय भएको कदापी सहन सक्दिन ।’

ओखलढुंगाका पाँचवटा पालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ हुने आयोजना रोकेर एमाले घृणित राजनीतिमा ओर्लिएको आरोप सांसद खतिवडाको छ । उनले भने, ‘त्यो पुलबाट कांग्रेस मात्र हिड्ने हुन् भन्ने मानसिकता एमालेले बोकेको देखियो । रकम सुनिश्निचता भइसकेको आयोजना तत्काल सुरु गर्न म माग गर्दछु । यो आयोजना हामी कुनै पनि हालतमा पूरा गरेरै छोड्छौं ।’

सम्बन्धित समाचार-

ओखलढुंगा पहिरे खोला पुल ठेक्का प्रकृया स्थगित