ओखलढुंगाको पहिरे खोला पुल ठेक्का स्थगनप्रति संसदमा खतिवडाको आपत्ति

ओखलढुंगाको पहिरे खोला पुल ठेक्का स्थगनप्रति संसदमा खतिवडाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अघिल्लोपटकको बजेटअनुसार टेन्डर भइसकेको ओखलढुंगाकाे पहिरे खाेला पुल कोशी प्रदेश सरकारले रद्द गरिदिएको भन्दै सोमबार संघीय संसद्‌मा आपत्ति जनाएका छन् ।

“कोशी प्रदेशमा अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याएको छ,” उनले भने, “ओखलढुंगाको पहिरे भन्ने ठाउँमा टेन्डर भइसकेको पुल रद्द गरेको छ । छिटोभन्दा छिटो पुल बनाउने व्यवस्था गरियोस् ।”

टेण्डर प्रक्रिया पूरा भएर काम सुरु हुने अवस्थामा पुगेको आयोजना एमालेले राजनीतिक प्रतिशोधका कारण स्थगित गरेको आरोप सांसद खतिवडाले लगाएका छन् ।

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णयबाट उक्त प्रदेशभरिका विभिन्न आयोजना तथा कार्यक्रमको श्रोत सहमति खारेज गर्ने निर्णय भएसँगै ओखलढुंगाको चर्चित पहिरे खोला पुलको समेत ठेक्का प्रकृया स्थगित भएको हाे ।

पूर्वाधार विकास कार्यालय ओखलढुंगाले गत बैशाख १३ गते पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । चारवटा निर्माण व्यवसायीले बोलपत्र पेस गरेका थिए । करिब तीन करोड रुपैयाँ लागत रहेको उक्त पुलको ठेक्काको प्राविधिक प्रस्ताव खोली आर्थिक प्रस्ताव खुल्ने चरणमा पुगिसकेको थियो ।

त्यसैगरी सांसद खतिवडाले दृष्टिविहीनलाई तत्काल ‘क’ वर्गको अपांगतामा सूचीकृत गरी उनीहरूलाई रातो कार्डको व्यवस्था गर्न पनि माग गरेका छन् ।

“दृष्टिविहीन हुनु, दुवै आँखा नदेख्नु हुनु एकदमै दुःखद अवस्था हो । तर, सरकारले दृष्टिविहीनहरूलाई ‘क’ वर्गको रातो कार्डको व्यवस्था गरेको छैन,” सांसद खतिवडाले भने, “तत्काल दृष्टिविहीनहरूलाई ‘क’ वर्गको रातो कार्डको व्यवस्थापन गरियोस् ।”

उनले सरकारका तर्फबाट तत्काल लम्पी स्किन रोगको औषधिको व्यवस्था गर्न माग गर्दै जिल्लाजिल्लामा निःशुल्क वितरणका लागि पनि सभामुखसँग ‘रुलिङ’ माग गरे ।