सीमा क्षेत्रमा ४ देखि ७ रुपैयाँसम्म भारु कमजोर

सीमा क्षेत्रमा ४ देखि ७ रुपैयाँसम्म भारु कमजोर


ग्लोब नेपाल
108
Shares

पर्सा । नेपालको सिमावर्ती सहर वीरगन्जका व्यपारीले भारतीय रुपैयाँमा कारोवार बन्द गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको भन्दै ४ देखि ७ रुपैयाँ सम्ममा मुल्य तल झरेपछि वीरगन्जका व्यपारीले भारु लिन छाडेका हुन ।

ग्राहकले दिएको भारु ५ सयपछि साट्न जाँदा ५० रुपैयाँसम्म कम पाउने भएपछि विगत एक महिनादेखि आफूहरुले भारु लिन छाडेको व्यपारी प्रमानन्द पालले बताए ।

१ सय भारतीय रुपैयाको नेपाली १ सय ६० रुपैयाँ सरकारले निर्धारण गरे पनि सीमाक्षेत्रमा दैनिक मुद्राको भाउ तलमाथि हुन थालेपछि सीमाक्षेत्रमा संचालित रहेका पेट्रोल पम्पहरुले समेत सुचना नै टाँस गरी भारु लिन छाडेका हुन् ।

सीमाक्षेत्रमा भइरहेको भारतीय रुपैयाको अवमूल्यनले सबै भन्दा बढी होटल तथा पर्यटन व्यवसाय मारमा परेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्थले जानकारी दिए ।

उनले वीरगन्जको होटलमा ५० प्रतिशत भन्दा बढी भारतीयहरु आउने र सरकारले निर्धारण गरेकै दररेटमा उनीहरुसँग कारोवार गरे पनि पछि बजारमा खर्च गर्न जाँदा भारु नलिने र लिए पनि कम रेटमा लिने गरेकाले होटल व्यवसायी मारमा परेको बताए ।

सीमाक्षेत्रमा देखिएको भारतीय रुपैया अवमूल्यनको मुख्य जिम्मेवार नेपाल सरकारको भन्सार नीति रहेको वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले आरोप लगाए । उनले आयात गरिएका बस्तुको वास्तविक मुल्य भन्दा भन्सारले बस्तुको मुल्यांकन बढी गरेपछि सीमाक्षेत्रमा भारुको मुल्यमा अनिश्चिता आएको बताए ।

सीमाक्षेत्रमा देखिएको भारतीय रुपैयाँको अवमूल्यनले चलनमा नेपाली रुपैयालाई बलियो देखाए पनि यसले सीमाक्षेत्रको कारोवारमा नकारात्मक प्रभाव पारिरहेको जानकारहरु बताउँछन ।