घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड ५४ लाख

घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड ५४ लाख



दाङ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएको जानकारी दिइन् ।

चालुतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार अर्थात् ५९.४० प्रतिशत र पुँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार अर्थात् ४०.६० प्रतिशत बजेट विनियोजन भएको डिसीले बताइन् । कुल विनियोजित बजेटमध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाख रुपयाँमध्ये ५ करोड ३१ लाख अर्थात् ६.९३ प्रतिशत पुँजीगत खर्च रहेको छ भने ७१ करोड २८ लाख अर्थात् ९३.०७ प्रतिशत चालु खर्च छ ।

बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार , प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ। त्यस्तै बैंक मैज्जात ३६ करोड रहेको छ ।

घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नती, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै उपमहानगरपालिका भित्रका डाक्टर–इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ ।