इटहरीको बजेट दुई अर्ब ३५ करोड ३१ लाख

इटहरीको बजेट दुई अर्ब ३५ करोड ३१ लाख



सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आइतबार १३ औं नगरसभामा उपप्रमुख संगिताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन् । उपमहानगरले १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकेको छ ।

जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमुख चौधरीले उल्लेख गरेकी छन्। अरु बाँकी १० वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।

इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महानगरउन्मुख सहर हो। यहाँ इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटी स्क्यान, भिडिओ एक्सरे तथा आइसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले उल्लेख गरिन् ।