तिलोत्तमाको बजेट २ अर्ब ७३ करोड ८४ लाख

तिलोत्तमाको बजेट २ अर्ब ७३ करोड ८४ लाख



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले आगामी वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

आगामी वर्षको बजेट चालु वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो। चालु आर्थिक वर्षको लागि तिलोत्तमाले २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

उपप्रमुख चौधरीले आगामी वर्षका लागि भवन, शहरी विकास र पुर्वाधारलाई मुख्य प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेकी हुन् ।

कुल बजेटमा भवन, शहरी विकास र पूर्वाधारमा मात्रै १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य र कृषिलाई पनि जोड दिएको छ ।

बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईमा ३ करोड २३ लाख ५१ हजार विनियोजन गरिएको छ ।

यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजारको बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख चौधरीले नगरबासीको विकासको उत्कृष्ट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासका लागि बजेट तयार पारिएको बताइन् ।

विगतका वर्षहरूमा तिलोत्तमाले स्थापित गरेको आफ्नो पहिचानलाई थप उचाइँमा पुर्‍याउने गरी बजेट विनियोजन गरिएको उनले बताइन् ।

बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ । बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ ।