सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख

सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सिद्धिचरण नगरपालिकाले ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपैयाँ बजेट ल्याएको छ ।

नगरपालिकाको १२ औँ नगरसभामा उप-प्रमुख केदारबाबु बस्नेतले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि उक्त बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकामा राजश्व बाँडफाँड संघीय सरकारबाट नौ करोड ८७ लाख तीन हजार तीन सय, आन्तरिक आय एक करोड ५० लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँडबाट ६५ लाख आम्दानी हुने लक्ष्य राखिएको छ ।

यसैगरी सवारी साधन कर प्रदेश सरकारबाट ८५ लाख ९३ हजार, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान गरी ४९ करोड ८८ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानिकरण, समपुरक र सशर्त अनुदान गरी तीन करोड ३१ लाख तीन हजार र बाँकी नपुग रकम मौज्दातबाट दुई करोड ५० लाख व्यहोर्ने गरी बजेट सार्वजनिक गरिएको छ ।

नगरपालिकाले चालु तथा प्रशासनिक खर्चमा आगामी वर्षका लागि ११ करोड ३७ लाख ९६ हजार विनियोजन गरेको सार्वजनिक भएको बजेटमा उल्लेख गरिएको छ ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले कृषि, पशुपालन र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । उनले उत्पादित कृषि उपज सहज र सरल रुपमा बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, कृषकहरुलाई रासायनीक मल ढुवानीमा शत प्रतिशत अनुदानकाे व्यवस्था गर्ने, कृषि बीमा लागु गर्ने, आन्तरिक उत्पादनकाे बजारलाई सहज बनाउन बाह्य उत्पादनलाई निरुत्साहित गर्ने, बजार क्षेत्रमा चिस्यान निर्माण गरिने जानकारी दिए ।

त्यसैगरी बुङको आलु उत्पादन प्रोत्साहन र भण्डारण साथै बजारीकरण गर्ने, नगदेबालीहरु प्याज, लसुनलगायत अन्य नगदेबाली उत्पादन गरी आयात प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रम ल्याइएको नगरपालिका प्रमुख खनालले बताए ।

नगरपालिकाले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई स्तरउन्नति गर्ने, बुहारी छात्रवृत्ति कार्यक्रम, दिवा खाजालाई व्यवस्थापन गर्ने, विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम, विद्यालय नर्सिङ कार्यक्रम, सामुदायिक विद्यालयमा नमुना कक्षा सञ्चालन, विद्यालयका शिक्षक तथा कर्मचारीको विद्युतिय हाजिरी कार्यक्रमको अनुगमन गरी कडाइका साथ लागु गरिने र वडा नम्बर २ मा रहेको हिमालय माद्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने जस्ता कार्यक्रम ल्याइएको पनि नगरपालिका प्रमुख खनालले बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणजस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजनासमेत रहेको प्रमुख खनालको भनाइ छ ।