आवश्यकता परेमा मध्यावधिमा जान सकिन्छ : उद्धव थापा

आवश्यकता परेमा मध्यावधिमा जान सकिन्छ : उद्धव थापा



विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने बताएका छन् । उनले बरु आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताए ।

प्रदेशसभा सचिवालयमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई विश्वासको मत नदिने बताए ।

मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ संसदबाटै दिने पनि बताए ।

थापाले कोशी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने पनि बताए ।
आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।