विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।
बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे । ‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।
प्रदेश नामकरणको विषयमा भएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा सरकार रहेको बताउँदै उनले प्रदेशसभाले गरेको निर्णयमा केन्द्रीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाए । संवैधानिक प्रक्रिया पुरा गरेर सहमतिमा नाम राखिसकेपछि जिम्मेवार दलका मान्छेहरुले फरकफरक मान्छेसँग फरकफरक कुरा गरेको उनले आरोप पनि लगाए ।
मुख्यमन्त्री कार्कीले विगतका सरकारले बजेटको आकारभन्दा ठूला आयोजनाहरू विधि विपरीत ठेक्का प्रक्रियामा लगेको आरोप लगाउँदै निर्माण कम्पनीहरुलाई पैसा दिन नसकिएको बताए । पूर्व सरकारहरुले अर्थमन्त्रालयले स्वीकृति नै नदिई मन्त्रीपरिषदबाट निर्णय गराएर जथाभाबी निर्माणका काम गरिएको र आफूले त्यस्ता काम रोक्ने प्रयास गरेको उनले बताए ।
प्रतिक्रिया