खुमलटार पुगेर कृषिमन्त्री भुसालले रोपे धान

खुमलटार पुगेर कृषिमन्त्री भुसालले रोपे धान



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् ।

धान दिवसका अवसरमा आज नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।

कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरे । एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरेका हुन् ।

यस वर्षको २०औं राष्ट्रिय धान दिवस आज (असार १५ गते शुक्रबार) ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ । मानो खाएर मुरी उब्जाउने असार महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ । यसै दिनलाई दही–चिउरा खाने दिनको रूपमा समेत लिइन्छ ।

रोपाइँ गर्दै मन्त्री भुसालले अर्थतन्त्रलाई बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

उनले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताएका छन् ।

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइकाे दर बढिरहेकाे छ । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ ‘ भुसालले भने ।

उनले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताएका छन् । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गरे ।