हामी सरकारतिर हेर्दैनौँ, मिसन ०८४ मा जान्छौँ : ओली

हामी सरकारतिर हेर्दैनौँ, मिसन ०८४ मा जान्छौँ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् ।

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताएका हुन् ।

‘अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्नु छैन,’ उनले भने ।

उनले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् । ‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ ओलीले भने ।

भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले गर्‍यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।

सरकारको तागत नै झुट बोल्नु भएको उनले बताएका छन् । आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए ।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ उनले अघि भने, ‘अहिलेको सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’