सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा निर्माण व्यवसायीको ताला

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा निर्माण व्यवसायीको ताला


ग्लोब नेपाल
540
Shares

चन्द्रनिगाहपुर । निर्माण व्यवसायी संघ रौतहटले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर कार्यालयमा तालाबन्दी गरेका छन् । नियमानुसार ठेक्का सम्झौताको भुक्तानी नदिएपछि व्यवसायीहरुले सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष कृष्णदेव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायीहरुले मौसमको प्रतिकूल र परम आर्थिक मन्दी, विभिन्न निर्माणस्थलमा अवरोधका बाबजुद पनि स्वीकृत ठेक्का सम्झौता सम्पन्न गरेको तर, सरकारी कार्यालयबाट काम गराउन मात्र चासो राखिएको र सम्पन्न गरेको निर्माण कार्यको बिल र भुक्तानीमा कार्यालय कुनै चासो एवम् तदारुक्ता नभएकाले व्यवसायीले मानसिक तनावमा झेलिरहेको विज्ञप्तिमा उल्लेख छ ।

असार मसान्तमा भुक्तानी हुन्छ भनी आवश्वासन दिइएकोमा हाल कार्यालय प्रमुख, लेखा प्रमुख तथा जिम्मेवार व्यक्तिहरु कार्यालयमा नहुँदा बाध्य भएर सडक डिभिजन कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष यादवले बताए । व्यवसायीको मागलाई सम्बोधन नभएसम्म अझ कठोर आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं, सकड डिभिजन चन्द्रनिगाहपुर, जिल्ला प्रशासन कार्यालय रौतहट र अर्थमन्त्रालयलाई बोधार्थ दिएका छन् ।