भुर्तेलकाे घातक बलिङमा यूएईले नेपाललाई दियाे एक सय ५८ रनको लक्ष्य

भुर्तेलकाे घातक बलिङमा यूएईले नेपाललाई दियाे एक सय ५८ रनको लक्ष्य



काठमाडौं । कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स ‘ए’ बाट १५८ रनको लक्ष्य पाएको छ ।

भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

खेलमा पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।

खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् भने तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारे ।

यूएईको नवौं विकेट भने श्याम ढकालले लिएका थिए । उनले जस जिनयानीलाई १३ रनमा कुशल मल्लद्वारा क्याच गराएका थिए । जस जिनयानी आउट हुँदा यूएईले ४३.२ ओभरमा एक सय ५६ रन बनाएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।