महामन्त्रीद्वयलाई चेतावनी : तपाईंकै विकल्प खोज्न नपरोस्

महामन्त्रीद्वयलाई चेतावनी : तपाईंकै विकल्प खोज्न नपरोस्



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिएकी छन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भनिन्, “महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,” खतिवडाले भनिन्, “सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस् ।”

उनले महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने चेतावनी दिइन् ।

१३औँ महाधिवेशनसम्म देउवा विरोधी पहिचान बनाएकी खतिवडा ईश्वरी न्यौपाने नेतृत्वको महिला विभागको सचिवमा मनोनीत भएसँगै देउवा गुटमा सक्रिय भएकी थिइन् ।

केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला व्यापक सुनेको सभापति शेरबहादुर देउवालाई सुनाइन् ।

‘लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ’, देवकोटाले भनिन् । भ्रष्टचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको उनले सुनाइन् ।

सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने तर्क उनले बैठकमा राखिन् । ‘सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गालि गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ,’ देवकोटाले भनिन् ।

केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले संसद् बैठक जानुअघि छलफलको आवश्यकता औँल्याएका छन् ।

जारी बैठकमा उनले सभापति कहिलेकाहीँ संसद्मा जाने, उपसभापतिद्वय मन्त्री भएकाले कम उपस्थित हुने र महामन्त्रीहरु देखा पर्ने भएकाले प्रतिपक्षीहरुले संसद् हल्लाएको बताए । संसद् जानुअघि छलफल गरेर गए सदनमा दह्रो भएर प्रस्तुत हुन सकिने उनले बताए ।

“संसद्मा सभापति यदाकदा जाने, उपसभापति दुईजनै मन्त्री भएर उपस्थिति कम हुने । महामन्त्रीहरु छिनछिनमा आउने, देखा पर्ने । तर, प्रतिपक्षले कसरी हल्लाउँछन् संसद् भन्ने देख्नुभा छ ?,” उनले भने, “कसरी चलेको होला ? त्यो बारेमा पनि प्रत्येक दिन छलफल गरेर संसद्मा जाने पद्धति भयो भने कांग्रेस त्यहाँ पनि अझ दह्रो भएर प्रस्तुत हुनेछ ।”

उनले पार्टीमा एउटाले अर्कोलाई गाली गरेर कोही महान नहुने बताए । गुटका कुराले पार्टी बलियो नहुने उनको भनाइ थियो ।

त्यसैगरी, केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले आठै महामन्त्रीलाई प्रदेशको जिम्मेवारी दिन आग्रह गरिन् । उनले सहमहामन्त्रीहरूलाई पनि जिम्मेवार बनाउन आग्रह गरिन् ।

“सहमहामन्त्रीलाई जिम्मेवारी दिनुपर्छ । विधानमा दिएको रहनेछ,” उनले भनिन्, “सातै प्रदेशमा खटाउने र एकजनालाई अनुगमनमा लगाउनुपर्छ उहाँहरूलाई जिम्मेवारी दिनुपर्छ भनेको ठानेको छु ।”

केन्द्रीय सदस्य उर्मिला थपलियाले भ्रातृ संस्था मरणासन्न अवस्थामा रहेको बताएकी छन् । यसको असर तीन तहको निर्वाचनमा परेको उनले बताइन् । बैठकमा बोल्दै उनले तरूण दलमा पनि आफ्नो गुटबाट माथि उठेर नेतृत्व नदिइएको बताइन् ।

“पद दिँदा घरको अंश काटेर दिने सोचबाट माथि उठ्न आग्रह गर्छु,” उनले भनिन् । उनले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा महिला उमेदवार मारमा परेको बताएकी छन् ।

केन्द्रीय सदस्य थपलियाले प्रमुख-उपप्रमुखमा महिला अनिवार्य भने पनि गठबन्धनका कारण महिला उमेदवार कांग्रेसले बनाउन नसकेको बताइन् । आगमी दिनमा यो कुरालाई विचार गर्न पनि उनले आग्रह गरिन् ।

बैठकमा प्रदेश कार्यसमितिलाई ‘बाइपास’ गरिएको भन्दै प्रश्न उठेको छ । प्रदेश सभापतिहरुले प्रदेश कार्यसमितिलाई केन्द्रले ‘बाइपास’ गरेको भन्दै रोष प्रकट गरेका हुन् ।

महामन्त्री गगन थापाद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेशको भूमिका उल्लेख नभएको भन्दै मंगलबारको बैठकमा प्रदेश सभापतिहरुले प्रश्न उठाएका हुन् ।