काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई केही बेरअघि अदालतमा उपस्थित गराइएको हो । आइतबार आफैँ अदालत उपस्थित भएका लामिछाने हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा आइतबारै उनको बयान लिइएको थियो । त्यसपछि सोमबार जाहेरवाला र सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
समय अभाव भएकाले प्रतिवादी लामिछानेको तर्फबाट भने बहस सुरु नै भएन । हिजो (मंगलबार) सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।
प्रतिवादी लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।
प्रतिक्रिया