उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव

उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव



काठमाडौं । सांसदहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको अर्थ समितिले बिहीबार गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा सांसदहरुले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुदृढ बनाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै मध्यमार्गी नीति ल्याउन सुझाव दिए । उनले सरकार र राष्ट्र बैंकको सम्बन्ध घनिष्ट हुनुपर्नेमा जोड दिए ।

सांसद डा स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय क्षेत्रले अनुत्पादक क्षेत्रमा बढी ऋण प्रवाह गरेकाले कर्जा विस्तारअनुसार आर्थिक वृद्धिदरको तादम्य नमिलेको बताए । उनले घरजग्गालगायत क्षेत्रको कर्जा विस्तारलाई कसिलो बनाउनुपर्ने र उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुपर्नेमा जोड दिए ।

सांसद पदम गिरीले क्रिप्टो कारोबारको नियमन तथा व्यवस्थापनमा गम्भीर हुन राष्ट्र बैंकसँग आग्रह गरे। अर्का सांसद बिराजभक्त श्रेष्ठले कृषि क्षेत्रको वृद्धिदर बढ्ने गरी मौद्रिक नीति ल्याउन र ब्याजदरलाई वाञ्छित सीमाभित्र राखी लगानीको वातावरण बनाउन सुझाव दिए ।

सांसद भगवती चौधरीले साना तथा मझौला उद्यमीलाई सहजरूपमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । बैठकमा गभर्नर अधिकारीले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने तथा बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति जारी गर्ने जवाफ दिए ।

उनले पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा, तरलता पर्याप्त र ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार सुस्ताएको बताए । ‘बाह्य क्षेत्रमा राम्रो सुधार भएको छ । भुक्तानी सन्तुलन सहज अवस्थामा पुगेको छ । तर विश्वबजार र आन्तरिक बजार एकदमै असहज अवस्थामा देखिन्छ’, उनले भने । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न राष्ट्र बैंकले आवश्यक उपकरण प्रयोग गर्ने उनको भनाइ थियो ।