चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन, पर्वतमा पाँच घाइते

चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन, पर्वतमा पाँच घाइते



रोल्पा/पर्वत । गए राति परेको चट्याङमा रोल्पामा एक वडासदस्यको निधन भएको छ ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।

पर्वतमा पाँच घाइते

पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका हुन् ।

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पुर्‍याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् ।

त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उनकी छोरी ३० वर्षीया रेखा सुनार घाइते भएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिए । उनीहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनको भनाइ छ ।

चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताए ।