श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक



काठमाडौं । श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए ।

उनले श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गरे । श्रमसम्बन्धी विधिशास्त्रको कार्यान्वयन र श्रम कानुनको विकासमा सङ्ग्रहले योगदान पुर्‍याउने उनको भनाइ छ ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका फैसलासम्बन्धी खोज र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताए । उनले बिदामा नबसी अहोरात्र खटेर काम गरेको जानकारी दिए । पछिल्लो समय श्रम अदालतमा मुद्दाको सङ्ख्या बढदै गएको उनको भनाइ छ ।

श्रम अदालतका न्यायाधीश निशा बानियाँले सर्वोच्च अदालत र श्रम अदालतले गरेका महत्वपूर्ण ५० वटा फैसलाको सङ्ग्रह पहिलो पटक प्रकाशन गरेको बताए । श्रम अदालत २०५२ सालमा एक न्यायाधीशले मुद्दा हेर्ने गरी र २०७७ सालदेखि तीन सदस्य न्यायाधीशबाट मुद्दाको सुनुवाइ भइरहेको छ ।