शिक्षा, संस्कार र विकास

शिक्षा, संस्कार र विकास



हरेक प्राणीको पहिलो गुरू आमा हो । मान्छे त झन् सर्वश्रेष्ठ प्राणी । उसले आफ्ना सन्तानलाई दिने शिक्षा, दीक्षा र संस्कारले ठूलो अर्थ लाग्छ । त्यो व्यक्ति कुन संस्कारमा हुर्केको छ, कुन परिवेशमा हुर्केको छ, उसको परिवेश उसको लागि मार्गदर्शक भइरहेको हुन्छ । शुरूमा उसको पथ प्रदर्शक आमा, त्यसपछि ऊ बस्ने समाज, त्यसपछि छरछिमेक, नातागोता, कूलकुटुम्ब यी सबैको महत्वपूर्ण भूमिका हुन्छ त्यो व्यक्तिको सर्वांगींण विकासको लागि। स्कूल र गुरूहरू बच्चा हिंड्न सक्ने र बोल्न सक्ने भएपछि चाहिन सक्छ ।

त्यसो त आज पनि करोडौं बालबच्चाले स्कूल देख्न पाएका छैनन् । कतिपय देशमा छात्रले मात्र स्कूल देख्न पाउँछन् छात्राले पाउँदैनन् । कतिपयले घरको आर्थिक अवस्थाको कारण प्राथमिक शिक्षापछि अघि बढ्न सक्दैनन् । हाम्रै देशमा पनि छोरा र छोरीमा ठूलो विभेद छ । खासगरी तराई–मधेश र सुदुरपश्चिमका विकट गाउँमा छोरालाई सामान्य लेखपढ गराए पनि छोरीलाई स्कूल पठाउने चलन निकै कम छ । २१ औं शताब्दीमा पनि हाम्रो समाज अझै धेरै पछि छ । आर्थिक रूपमा त पछि थियौं थियौं, मानसिक रूपमा पनि हामी दरिद्र देखियौं ।

हाम्रा चाडपर्व आउँछन्। कहिले दुर्गा पुज्छौं कहिले देवी पुज्छौं। विभिन्न देवीका मन्दिर जान्छौं । शरणागत परेर विभिन्न मनोकामना देवीका चरणमा खन्याउँछौं । तर, घर फर्केपछि आफ्नी जन्मदिने आमा, छोरी, दिदीबहिनी, जीवनको लामो यात्रामा सहयात्री बनेर आएकी श्रीमतीप्रति गर्ने हाम्रा व्यवहार फरक हुन्छन्, किन ? यो प्रश्न हाम्रो समाजलाई हो, समग्रमा भन्नुपर्दा सवै पुरूषहरूलाई हो । त्यसो त कतिपय मुस्लिम देश र समाजमा आज पनि महिलाहरू दोस्रो दर्जाका नागरिक मानिन्छन् । अझ भनौं तिनीहरूलाई मान्छे नै ठानिन्न।

तपाईं जुनसुकै धर्म वा सम्प्रदायको हुनुहोस् आफ्ना नानीहरूलाई मानवता, विवेक, प्रेम र शान्तिको पाठ पढाई रहनुभयो भने त्यसको सकारात्मक प्रभाव देश र समाजमा अवश्य पर्छ । हो प्रतिस्पर्धा अवश्य चाहिन्छ तर त्यो स्वस्थ्य र सम्पूर्ण प्राणीको हितमा हुनुपर्छ ।

स्वास्नी मान्छेले पढ्न हुँदैन भन्ने मान्यता केही बर्ष पहिलेसम्म हिन्दु समाजमा पनि थियो । आज पनि नेपालका सुदुर गाउँ जहाँ विपन्न परिवार बस्छन् त्यहाँ छोरी पढाउने चलन कम छ, पढाई हाले पनि ३–४ कक्षा नपुग्दै स्कुल पठाउन बन्द गर्ने गरिन्छ । भारतीय समाजमा पनि छोरीलाई भन्दा छोरालाई बढी महत्व दिइन्छ ।

यतिवेला भारतीय सरकारले ‘छोरी पढाउ’ अभियान नै संचालनमा ल्याएको छ । त्यसको राम्रो प्रभाव परेको छ । नेपालमा पनि विस्तारै छोरी पढाउने अभियानमा विभिन्न संस्थाहरू लागिपरेका छन् । सरकारले छोरी पढाउ अभियानलाई जुनरूपमा अभिभावकत्व ग्रहण गर्नुपर्थ्यो त्यो देख्न पाइएको छैन । पढाउन त पढाउने कस्तो शिक्षा पढाउने ? कुन संस्कार दिने ? यसबारे हामीले कहिल्यै गम्भीर भएर सोचेका छौं ?

अंग्रेजी अन्तर्राष्ट्रिय बोलीचालीको भाषा हो, त्यसको उच्च सम्मान गर्नैपर्छ तर त्यसको अर्थ यो होइन कि हामीले हाम्रो भाषा, संस्कृति, संस्कार सबै बिर्सनुपर्छ। संसारका प्रायः सवै मानव जातिले आ–आफ्नो धर्म, रीतिरिवाज, संस्कृति र संस्कारलाई जोगाउँदै हिंडेको पाइन्छ । कतिपय मुलुकमा अंग्रेजी भाषा ‘अप्सनल’ मा पनि राखिएको छ । बहुसंख्यक जापानी, फ्रान्सेली र चीनियाँहरूले अंग्रेजी नजाने पनि प्रगति त राम्रै गरेका छन् । कतिपय मुलुकका जनताले विश्वस्तरमा खुला प्रतिस्पर्धामा भाग लिन अंग्रेजी भाषालाई आत्मसात गर्ने तर आफ्नो धर्म, संस्कृति र परम्परालाई संसारका जुनसुकै कुनामा बसे पनि संरक्षण गर्न लागिपरेको देख्न र सुन्न पाइन्छ।

तपाईं जुनसुकै धर्म वा सम्प्रदायको हुनुहोस् आफ्ना नानीहरूलाई मानवता, विवेक, प्रेम र शान्तिको पाठ पढाई रहनुभयो भने त्यसको सकारात्मक प्रभाव देश र समाजमा अवश्य पर्छ । हो प्रतिस्पर्धा अवश्य चाहिन्छ तर त्यो स्वस्थ्य र सम्पूर्ण प्राणीको हितमा हुनुपर्छ । आज विकासका नाममा भएको अस्वस्थ प्रतिस्पर्धाले संसार विध्वंसको बाटोमा अघि बढिरहेको छ । आणविक अस्त्रको होडबाजी दिनप्रति दिन बढिरहेको छ । हाम्रो विज्ञानले के बिर्सेको छ भने हजारौं बर्षअघि पनि उन्नत प्रविधिहरू प्रयोगमा थिए । ती सवै वातावरणमैत्री थिए । तर, अहिलेको प्रविधिले प्रकृतिको दोहन गरिरहेको छ ।

यसैको कारण हाम्रा सन्ततिको भविश्य सुरक्षित छैन । चन्द्रमामा मानव बस्ती बसाउने सोचमा रहेको वैज्ञानिक चिन्तनले मानवीय पक्षलाई भने नजरअन्दाज गरेको आभाष हुन्छ । स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको छ । स्वचालित यन्त्रबाट शल्यक्रिया हुन थालेको छ तर हाम्रो स्वास्थ्य अवस्था दिनप्रति दिन खस्कदो छ । नानीहरू जन्मदै सुस्त मनस्थितिका र उमेर पुगेका मानिसहरू ‘डिप्रेसन’ को शिकार हुने क्रम बढ्दो छ ।

आर्थिक विकासले मानिसको आय त बढाएको छ तर मनको शान्ति घटेको छ । समय हेर्न करोडौं पर्ने घडी उत्पादन गर्न सक्षम छ वैज्ञानिक तर समय उसको नियन्त्रणमा छैन । तसर्थ हामीले हाम्रा भावी सन्ततीलाई त्यस्तो शिक्षा दिऔं जुन शिक्षाले अरूलाई घात नगरी जीवन जिउने कलाले दीक्षित बनाओस्। आडम्वरी होइन असल मान्छे हुन सिकाओस् । सभ्य र सुसंस्कृति विश्व निर्माण गर्न सिकाओस् ।