एनआरएन अमेरिकाको मतदान जारी, ७५ प्रतिशत मत खस्यो

एनआरएन अमेरिकाको मतदान जारी, ७५ प्रतिशत मत खस्यो


ग्लोब नेपाल
2.6k
Shares

न्यूयोर्क,अमेरिका । गैर आवासीय नेपाली संघ,अमेरिका राष्ट्रीय समन्वय परिषदको नयाँ नेतृत्वका लागि आज पनि मतदान जारी रहेको छ। यहाँको स्थानीय समय अनुसार शनिवार राती १ बजेसम्म ७५ प्रतिशत मत खसिसकेको छ। राती १ बजेपछि निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार कूल मतदाता १३ हजार ६ सय ९१ मध्ये १० हजार २ सय ३४ जनाले मतदान गरिसकेका छन्। शनिवार बिहान सुरु भएको मतदान आइतवार बिहान १० बजेसम्म जारी रहनेछ ।

यो निर्वाचनले एनआरएन अमेरिकाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। पहिलोपटक सदस्यहरुको फेस भेरिफिकेशन प्रविधिको प्रयोग गरी यो निर्वाचन भैरहेको छ। तर समयमा मतदानका लागि आफुहरुले इमेल नपाएको र इमेल पाएकाहरुले पनि फेस भेरिफिकेशनमा समस्या देखिएको कतिपय मतदाताले गुनासो गरेका छन्।

शनिवार रातीसम्मको मतदान अनुसार तुलनात्मक रुपमा टेक्सासमा कम मत खसेको छ। टेक्सासका कूल मतदाता २ हजार ३ सय ९ मध्ये १ हजार ५ सय ४३ जनाले मात्र मतदान गरेका छन्। ‘यसो हुनुमा अधिकांशले मतदानका लागि इमेलमा प्राप्त हुने लिंक नै प्राप्त नगरेको गुनासो गरेका छन्’ टेक्सासमै रहेका कोषाध्यक्षका उम्मेदवार अमित शर्माले जानकारी दिए। भेरो नामक अष्ट्रेलियन कम्पनीले अनलाईन मार्फत यो निर्वाचन गरिरहेको छ।

धेरै मतदाता रहेका मध्ये कुल २ हजार २ सय २ सदस्य रहेको न्यूयोर्क राज्यबाट १ हजार ५ सय ५५ मत खसिसकेको छ। यसैगरी १ हजार ६ सय ९६ सदस्य रहेको मेरिल्याण्ड राज्यबाट १ हजार ३ सय ९० मत खसेको छ भने १ हजार ५ सय ६७ मत रहेको क्यालिफोर्नियाबाट १ हजार १ सय ६१ मत खसेको छ। १ हजार ११ जना सदस्य रहेको कोलोराडो राज्यबाट ८ सय १६ जनाले मतदान गरिसकेका छन् भने २ सय ७१ सदस्य रहेको नर्थ क्यारोलिनाबाट २ सय १० जनाले मतदान गरिसकेका छन्। २ सय ५५ सदस्य रहेको विस्कनसिन राज्यबाट २ सय २३ जनाले मतदान गरिसकेका छन्। ८ सय ८१ सदस्य रहेको केन्टकी राज्यबाट ७ सय ८५ जनाले मतदान गरिसकेका छन्।

यसपटक डाक्टर अर्जुन बन्जाडे र डिलु पराजुली आ आफ्नो समूहसहित नेतृत्वका लागि मैदानमा छन्। एक अध्यक्ष,एक वरिष्ठ उपाध्यक्ष, एक महिलासहित पाँच उपाध्यक्ष,एक महासचिव,एक सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष,एक महिला सचिव,एक महिला संयोजक,एक युवा उपाध्यक्ष,एक युवा संयोजक,चार क्षेत्रीय संयोजक र १२ जना बोर्ड सदस्यका लागि निर्वाचन हुँदैछ। ३१ जनाको यो कार्य समितिका लागि अध्यक्षका दुवै उम्मेदवारले आ आफ्नो समूह बनाएका छन् भने ८ जना आइसीसी सदस्यका लागि ११ जनाले प्रतिष्पर्धा गर्दै छन्। यसैगरी १५ सदस्यीय च्याप्टर नेतृत्वका लागि पनि कतिपय च्याप्टरमा टीमसहितको चुनावी प्रतिष्पर्धा नै हुँदैछ।

एनआरएन अमेरिकाको निर्वाचन जारी