एनआरएन अमेरिकाको अध्यक्षमा डा. बन्जाडे विजयी

एनआरएन अमेरिकाको अध्यक्षमा डा. बन्जाडे विजयी



न्यूयोर्क,अमेरिका । एनआरएन अमेरिकाको अध्यक्षमा डा.अर्जुन बन्जाडे अत्यधिक मतका साथ विजयी भएका छन् । डा. बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् भने उपविजेता डिलु पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरेका छन् । यहाँको स्थानीय समय अनुसार आज विहान १० बजे मतदान सम्पन्न भएको थियो । गैर आवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्वका लागि भएको मतदानमा ८२ प्रतिशतभन्दा बढी मत खसेको थियो ।


निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार कूल मतदाता १३ हजार ६ सय ९१ मध्ये ११ हजार २ सय ६९ जनाले मतदान गरेका थिए । यो निर्वाचनले एनआरएन अमेरिकाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । पहिलोपटक सदस्यहरुको फेस भेरिफिकेशन प्रविधिको प्रयोग गरेर मतदान सम्पन्न भएको थियो ।

अध्यक्ष सहित एक वरिष्ठ उपाध्यक्ष, एक महिलासहित पाँच उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष, एक महिला सचिव, एक महिला संयोजक, एक युवा उपाध्यक्ष, एक युवा संयोजक, चार क्षेत्रीय संयोजक र १२ जना बोर्ड सदस्यका लागि मतदान भएको थियो। ३१ जनाको यो कार्य समितिका लागि अध्यक्षका दुवै उम्मेदवारले आआफ्नो समूह बनाएका थिए भने ८ जना आइसीसी सदस्यका लागि ११ जनाले प्रतिष्पर्धा गरेका थिए यसैगरी १५ सदस्यीय च्याप्टर नेतृत्वका लागि पनि कतिपय च्याप्टरमा टीमसहितको चुनावी प्रतिष्पर्धा भएको थियो । अध्यक्ष बाहेक अन्य उम्मेदवारको मतपरिणाम आउन भने बाँकी छ ।

एनआरएन अमेरिकाको मतदान सम्पन्न, ८२ प्रतिशत मत खस्यो