काठमाडौ । सर्वोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन आदेश दिएको हो ।
तत्कालका लागि कार्कीले नै कार्यवाहक पाउने र सात दिनभित्र संविधानको धारा ६१ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ । कसैले बहुमत देखाउन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेकामा धारा १६८ (३) अनुसारको प्रक्रिया अघि बढ्ने पनि आदेशमा उल्लेख छ ।
त्यसैगरी अदालतले प्रदेशसभा सभामुखले दोहोरो भूमिका दाबी गर्न नमिल्ने आदेश गरेको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि समर्थन गरेपछि परेको रिटमा फैसला गर्दै सर्वोच्चले सभामुखको पदीय भूमिकाको सीमाबारे व्याख्या गरेको हो ।
सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेशसभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न नमिल्ने सर्वोच्चले भनेको छ । ‘निजले सभामुखको भूमिकामा सीमित रहनु पर्दछ,’ आदेशमा भनिएको छ । सभामुख गौतमले आफू राजनीतिक दलबाट अलग रहे पनि प्रदेशसभाको सदस्यको भूमिकामा रहेकाले प्रदेशसभाको सदस्यकै हैसियतमा सरकार निर्माणका लागि हस्ताक्षर गरेको भन्दै तर्क गरेका थिए । सर्वोच्चले यस्तो तर्कलाई गलत ठहर्याएको हो ।
सभामुखले कुनै पनि राजनीतिक दल वा कुनै दलका सदस्यहरूलाई समर्थन गर्न नहुने भनेर पनि सर्वोच्चले व्याख्या गरेको छ । कुनै खास राजनीतिक दल वा कुनै दलका सदस्यलाई समर्थन गर्नुको स्वाभाविक अर्थ एउटासँग विशेष सम्बन्ध र अन्यसँग भिन्न प्रकारको सम्बन्ध कायम राखेको भन्ने हुने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया