एनआईसी एशियाद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

एनआईसी एशियाद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

आवाजबाटै भुक्तानीको जानकारी तत्काल प्राप्त हुने



काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले QR कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ ।

यस बैंकको QR कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहक महानुभावहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो ।

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको QR कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे QR बाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ ।

QR कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहक महानुभावहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेकाे छ ।