खाँणलाई अदालतले दोषी ठहर गरे कांग्रेसले कारबाही गर्छ : प्रकाशमान सिंह

खाँणलाई अदालतले दोषी ठहर गरे कांग्रेसले कारबाही गर्छ : प्रकाशमान सिंह



चितवन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आइतबार बिहान गरेको पत्रकार भेटघाटमा नेता सिंहले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको बताएका हुन् । उनले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाँणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए ।

पुरानो नजिरलाई लिएर खाँणलाई कारबाही नगरिएको उनको भनाइ थियो । उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।’ कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे ।

‘निष्पक्ष रूपमा कानुनी राज्यको पक्षमा हामी छौँ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा हामी छैनौँ,’ उनले भने ।