माओवादी पार्टीजस्तो हुन सकेको छैन : प्रचण्ड

माओवादी पार्टीजस्तो हुन सकेको छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा जारी बैठक ५ दिनसम्म चल्ने बताइएको छ । माओवादीले एक वर्षपछि बैठक बोलाएको हो । गत वर्षको असार १९-२१ मा माओवादी केन्द्रीय समिति बैठक बोलाएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याएका हुन् । यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।

प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताएका छन् । उनले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी छन् ।

बैठकमा सरकारको काम कारबाही, सत्तागठबन्धनको रणनीति, नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।