१० दल मिलेर पनि देश चलाउन सकेनन् : ओली

१० दल मिलेर पनि देश चलाउन सकेनन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको टिप्पणी गरेका छन् । आज तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठनबन्धन सरकारले देश चलाउन नसकेको बताएका हुन् ।

‘भाग्यमा छ भनेर डोकामा दुध दुहुन खोज्यो भने अडिदैन । हामी बाहेक अब देश चलाउनै सक्दैनन् । १० टाउके भएर चलाउँदा खेरी पनि चलाएनन् नि । १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन्,’– उनले भने । आफू प्रधानमन्त्री भएको बेलामा कोभिडबाट पनि देशलाई तहसनहस हुन नदिएको दाबी गर्दै उनले अहिले देशका सबै संरचना तहसनहस भएको टिप्पणी गरे ।

ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत बताए । ‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले’, ओलीले प्रश्न गर्दै भने, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’

उनले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताए । ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल-क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

ओलीले सरकारले संसद बैठक स्थगित गर्न सभामुख देवराज घिमिरेलाई दबाब दिएको बताएका छन् । मंगलबार डाकिएको संसद बैठक दबाब दिएर स्थगित गर्न लगाएको उनको आरोप छ ।

‘बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ । हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भनौं। सरकारले सभामुखलाई दबाब दिन्छ, तपाईँले सूचना टाँसेर रोक्नुस् भनेर,’ उनले भने ।

अध्यक्ष ओलीले संसद बैठक एमालेका कारण नभएर सरकारले रोकेको आरोप लगाए। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकको नाममा संसद बैठक लामो समयका लागि सार्नु उचित नहुने बताए ।