काठमाडौं । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताएका हुन् ।
पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको नाम जोडिएपछि उनले पार्टीका नेता लक्षित अभिव्यक्ति दिएका हुन् । सुन तस्करी प्रकरणमा माओवादीका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा लगायतको नाम जोडिएर चर्चा हुने गरेको छ । यद्यपि पुन र महरा दुवैले सुन तस्करी प्रकरणमा आफूहरुको संलग्नता नरहेको र दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
गृहमन्त्री श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् ।
“गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनले भने, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”
प्रतिक्रिया