पार्टीमा कुनै उत्साह छैन, कार्यकर्ता एमालेतिर जान थाले : झलनाथ खनाल

पार्टीमा कुनै उत्साह छैन, कार्यकर्ता एमालेतिर जान थाले : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । हिजोदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि अहिले पार्टीमा नरहेको उल्लेख गरेका छन् ।

पार्टीका उत्साहित विद्यार्थीले समेत दिशाहीन महसुस गरिरहेको उनको बुझाइ छ । “विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन । उनीहरू दिशाहीनजस्तो महसुस गरिरहेछन् । तर, अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्,” उनले बैठकमा प्रस्तुत गरेको लिखित धारणामा उल्लेख छ ।

पार्टी दक्षिणपन्थी बनेको आरोप लगाउँदै उनले स्वतन्त्र पहिचान बनाउन असफल भएको र माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

त्यस्तै सम्मानित नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।

खनालले पार्टीको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस रहेको टिप्पणी गरेका छन् । ‘यतिबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसबाहेक अरु कुनै हुन सक्दैन । यसबारे हामीलगायत सबै वामपन्थी समूहले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ’ खनालले प्रतिवेदनमा भनेका छन् ।

अधिकांश वामपन्थी समूहहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेको टिप्पणी गरेका छन् ।

खनालको दस्तावेज :